थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २६ जनाको मृत्यु


५ कार्तिक २०७७, बुधबार १७:१९ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ रहेको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ थियो ।

पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here