काठमाडौँ । मोरङ, सुनसरी र चितवनमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।
रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले बताए । नका अनुसार मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको उनले बताए ।
पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कानेपोखरीका ती पुरूष सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएका थिए ।उनमा सोमबार साँझ ६ बजे कोरोना पुष्टि भएको थियो । यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको उपचारका लागि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको आज विहान ४स्२० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा सुगर रोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । यद्यपि पछिल्लो विवरणलाई स्वास्थ्य मन्त्रालयले समावेश गरिसकेको छैन ।





