गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि ट्याक्टर व्यवसायी आन्दोलित


१७ आश्विन २०७७, शनिबार १३:१३ मा प्रकाशित

नवलपुर । पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्याक्टर व्यवसायी आन्दोलित भएका छन् ।

नवलपरासीपूर्व बिनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीब्र हुँदा प्रहरी प्रशासनले कारबाही थालेको छ ।

बिहीबार मात्रै विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य बस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारबाही थालेको थियो ।

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर ब्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका थिए । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरेका थिए ।

नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैले रोयल्टी उठाएर भए पनि खोल्नु पर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरी बताउँछन् ।

ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सय भन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए । नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य बस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । खोलाको नदीजन्य वस्तु निकासीको लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here