बुटवल । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ ।
बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले बताए ।
तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पुर्याएको छ ।
रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले बताए ।
बस्तीमा बाढी पसेपछि मध्यरातदेखि नै नगर प्रमुख घिमिरेको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी उद्धारका लागि पुगेका थिए ।





