बुटवल। कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
मिर्गौलाको समस्या रहेकी ति महिला भदौ २१ गते बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउन आएकी थिइन । उनमा कोरोना पोजेटिभ देखिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको गौतमले बताउनुभयो ।
उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको गौतमले बताउनुभयो ।
गौतमका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।





