पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा तीन बर्षीया बालिकाको मृत्यु भएको छ। वडाध्यक्ष टीकाराम भुसालका अनुसार आइतबार रातभर भएको अविरल वर्षापछि स्थानीय भुकेखोलामा बढेको भेलसँगै आएको पहिरोले सिर्सुवाका नवीन विकको घर पुरिँदा बालिकाको मृत्यु भएको हो।
पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्य भाग्न सफल भए पनि ती बालिका पहिरोमा परेकी थिइन्। उनको शव निकालिएको वडाध्यक्ष भुसालले बताए। पहिरोमा पशु चौपाया पनि पुरिएका छन्।
पहिरोले नवीनको घरभन्दा तल रहेको थानेश्वर भुसालको घर र गोठमा क्षति पुर्याउनुको साथै धान खेती पनि पुरेको छ। मुडीकुवाकै अर्को ठाउँ चुरीमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेका छन्।
वडाध्यक्ष भुसालले मुडिकुवाका विभिन्न ठाउँबाट घरहरू पहिरोको उच्च जोखिममा परेको भनी आफूलाई खबर आएको पनि बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि घटनाहरुको विषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताउँदै मुडिकुवाको पहिरोमा प्रहरीले उद्धार गरिरहेको र परा विवरण आउन बाँकी रहेको जानकारी दिए।





