सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ ।
गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि नागपुजेको ६ घर र भीरखर्कको १२ घर पुरिएको हो ।
नागपुजेको श्रेष्ठ टोलका १६ जना वेपत्ता भएका छन् भने एक जना वृदाको शव भेटिएको छ । ७० वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
नागपुजेमा स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले वेपत्ता भएकाको खोजी गरिरहेका छन् ।
वर्षाका कारण कच्ची सडक बन्द रहेकाले उद्धार गरिएका पाँच घाइतेको थप उपचारका लागि पठाउन कठिनाइ भैरहेको घटनास्थल पुगेका सञ्चारकर्मी निरज चौलागाईले बताउनुभयो ।
यता भीरकोटमा १२ घर पुरिएको भएतापनि मानवीय क्षति के कति भयो भन्ने एकिन विवरण आउन सकेको छैन् ।
सञ्चारकर्मी चौलागाईका अनुसार अहिले २४ वर्षीय जुनमाया विकको शव भेटिएको छ । घटनास्थल पुगेर प्रहरीले १२ वटा घरमा पुरिएकाहरुको खोजी कार्य गर्दैछ ।
भर्खरै प्रहरी पुगेकाले थप विवरण आउन बाँकी छ । यता जुगल गाउँपालिका ५ चनौटेमा पहिरोका कारण ८ घर पुरिएको छ ।
गएराति पहिरोले ८ घर पुर्दा तीन जना घाइते भएका वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो ।
माथिबाट पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । पहिरोका कारण ५० घर जोखिममा परेका छन् ।





