झापा । कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि त्यसको रोकथाम र नियन्त्रण गर्न झापाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
झापाका मेचीनगर, कमल, बुद्धशान्ति र गौरीगञ्जका १५ वटा वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ । सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन ।
मेचीनगर नगरपालिकाको वडा नं. ६, ७ र ८ मा, बुद्धशान्ति गाउँपालिकाको सबै वडामा, कमल गाउँपालिकाको वडा नं। ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म र गौरीगञ्जको वडा नं। ३, ४, ५ र ६ मा निषेधाज्ञा लगाइएको छ ।
मेचीनगरमा अर्को सूचना नभएसम्मका लागि, कमल गाउँपालिकाको वडा नं. ३ मा भदौ ९ गते राति १२ बजेसम्मका लागि, बुद्धशान्ति गाउँपालिकाका सबै वडामा भदौ ९ गते राति १२ बजेसम्मका लागि र गौरीगञ्जमा अर्को सूचना नभइञ्जेलसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।





