झापा । प्रधानमन्त्रीको मनोमौजी र भ्रमपूर्ण ठट्टा कार्यशैली, रञ्जन कोइरालाको रिहाइ लगायतको बिषयलाई लिएर विरोध जनाउँदै ने.वि.संघ झापाले झापाका विभिन्न ११ स्थानमा गरेको प्रदर्शन सोमबार सम्पन्न भएको छ ।
शक्ति र पैसाको आडमा न्यायालयलाई नै प्रभावमा राखेको निष्कर्षसहित यसको विरोधमा ने.वि.संघ झापाले श्रावण १३ गतेबाट प्रदर्शन गर्दै आएको थियो । पत्नी हत्याको आरोप स्वीकार गरेपछि आजीवन काराबासको सजाय भुक्तान गरिरहेका पूर्व डि.आइ.जी. रञ्जन कोइरालालाई सर्वोच्च अदालतले साढे आठ वर्षमा नै छाडिदिएपछि शक्ति र पैसाको आडमा न्यायालयलाई नै प्रभावमा पारिएको निष्कर्षसहित त्यसको विरोधमा नेविसंघ झापाले विरोध गर्दै प्रदर्शन गरेको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।
रञ्जन कोइरालालाई पूरा सजाय गरिनुपर्ने, सर्वोच्च अदालतका प्रधान न्यायधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाई कारबाही गरिनुपर्ने मागसहित प्रदर्शन गरिएको सभापति उप्रेतीले बताए ।
‘नेपाली संप्रभुता जिन्दावाद, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सुशासन कायम गर ,केपी ओली मूर्दावाद ,हिन्दू धर्मको अनादर नगर, चिनियाँ हस्तक्षेप मूर्दावाद, चिनियाँ बिस्तारवाद मूर्दावाद, हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा सहित प्रदर्शन गरिएको थियो ।





