झापा । मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
केही ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ । बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।
पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ । यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।





