महोत्तरीमा क्रसरले खनिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु


४ श्रावण २०७७, आईतवार २१:०८ मा प्रकाशित

महोत्तरी । महोत्तरीमा क्रसरले खनिएको खाल्डोमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको बर्दिबास–१४ निवासी आशुतोष मिश्रको १६ वर्षीय छोरा कनैया भन्ने रोशन मिश्र रहेका छन् ।

बर्दिबास–१४ स्थित रातो खोलाको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जनाएका छन् । मृतक रोशन, रबि साह र निशान्त कोइरालासंग नुहाउनका लागि खोलामा पुगेका थिए ।

रातोखोलामा कन्स्ट्रक्सनहरुले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा मिश्रको ज्यान गएको स्थानीयले बताए । गत बुधबार जिल्लाकै भंगहा नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here