काँकडभिट्टामा भारतले रोक्यो कृषि उत्पादन लिएर गएका २५ वटा ट्रक


५ असार २०७७, शुक्रबार १२:३८ मा प्रकाशित

झापा । भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ।

लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए।

बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्।

‘यहाँबाट जाने सम्पूर्ण सामग्रीहरू रोकिएका छन्, जान दिइएको छैन। करिब २५ वटा ट्रकहरू मेचीको पुलमै रोकिएका छन्,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले जानकारी दिए।
लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन अलि खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।

निर्यात सहजीकरणको लागि भारतको पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको दाहालले बताए।

उक्त नाकाबाट विषेशगरि कृषिजन्य वस्तुहरूको आयात हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here