काठमाडौं । विद्यालय सञ्चालकहरूले कोभिड–१९ कम संक्रमित भएको क्षेत्रमा आगामी असार १५ गतेदेखि आवश्यक सुरक्षा उपाय अपनाएर विद्यालय सञ्चालन गर्न माग गरेका छन् ।
‘ग्रिन जोन’मा रहेका विद्यालयहरूमा असार १५ भित्र विद्यार्थीहरूको प्रत्यक्ष उपस्थितिमा आवश्यक सुरक्षा सावधानी अपनाई पठनपाठन सुरु गरियोस्’ उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई बुझाइएको पत्रमा भनिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), पोखरा विश्वविद्यालय शैक्षिक संस्था, पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन नेपाल, सिएसआईटी कलेज एसोसिएन अफ नेपाल, प्राइभेट कलेज एसोसियसन, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र एसोसिएसन अफ इन्जिनियरिङ कलेजले यस्तो माग राखेका हुन् ।
‘एल्लो’ र ‘रेड जोन’मा भने सम्बन्धित पालिकाहरूले विश्लेषण गरेर पूर्ण वा आंशिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिनुपर्ने र असार १ गतेदेखि शिक्षक तथा कर्मचारीहरू विद्यालय जाने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।





