धनकुटा । नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन धनकुटाका पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।
लकडाउनको समयमा समेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, सेनेटाइजर लगायतका सामाग्री वितरण गरिएको हो । समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि सचेत रहन धनकुटाका पत्रकार तथा मिडिया हाउसलाई सामान प्रदान गरिएको प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले बताए ।
सामाग्री प्रेस युनियन सुनसरीको तर्फबाट सुमन गुरागाईले नेपाल पत्रकार महासंघ धनकुटा उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका ती सामग्री युनियनका सुनसरी सभापति अधिकारीले निजी लगानीमा खरिद गरेका हुन् ।





