धनकुटा । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द भएको धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।
सरकारले दिएको अनुमतिसँगै उद्योगमा रहेका कर्मचारीको व्यवस्थापन गर्दै उद्योग सञ्चालनमा आएको हो । आर्थिक क्रियाकलापमा सुस्तता आउन सक्ने भन्दै सरकारले गत चैत २० गते उद्योगहरुलाई शसर्त उद्योग सञ्चालन गर्न निर्देशन दिएको थियो ।
देशभरका अधिकांश उद्योग बन्द रहेका बेला मजदुरलाई सरकारी नियमको पालना गर्दै निःशुल्क खाने र बस्नेको व्यवस्था गरेर उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्धक सरोज सेढाइले जानकारी दिए ।
लकडाउन अघि दैनिक १ सय २५ मजदुरले काम गरिरहेको उद्योगमा अहिले ५० मजदुरले काम गरिरहेका छन । मजदुरलाई सामाजिक दुरी कायम गर्दै बेलाबेलामा सेनेटाइजर प्रयोग गर्न लगाइएको छ । उद्योगले लकडाउन अगाडि दैनिक ३५ सय बोरा सिमेन्ट उत्पादन गरेको भएपनि हाल मुस्किलले दैनिक ५ सय बोरा उत्पादन गरिरहेको जनाएको छ ।
उद्योगका लागि आवश्यक पर्ने कोइला लकडाउन अगाडिकै केही परिमाणमा रहेकाले उद्योग सञ्चालन गरिएको, त्यसले करिब एकहप्ता पुग्ने र त्यो पछि पुन उद्योग बन्द हुने अवस्था रहेको प्रबन्धक सेढाइले बताए ।





