झापा । भद्रपुरस्थित किचनकवधको टहरामा बस्दै आएका १८ जना भारतीय मजदुर त्यहाँबाट फरार भएका छन् ।
उनीहरू त्यहाँबाट आफ्नै देश भारत फर्किएका हुन् । उनीहरू बुधवार मध्यरातमा सीमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर भारततर्फ गएको बताइएको छ ।
एक महिनाअघि लुकिछिपी पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोज्दा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । बिर्तामोडको एक प्लाई उद्योगमा काम गर्ने उनीहरूको घर भारतको पश्चिम बङ्गालस्थित रायगञ्ज हो ।
भारत जान रोक लगाएका उनीहरूलाई स्थानीय जनप्रतिनिधि र प्रहरी, प्रशासनले समन्वयमा गरी किचनकवधको टहरामा राखेका थिए । उनीहरूलाई खानाको व्यवस्था स्थानीय जनप्रतिनिधिले मिलाएका थिए । करिब एक महिना टहरा बसेका उनीहरूलाई त्यहाँ बस्नै समस्या भइरहेको थियो । दिनहुँ हावाहुरी, चट्याङसहित पानी पर्दा उनीहरूलाई त्यहाँ बस्नका लागि खासै राम्रो व्यवस्था मिलाइएको थिएन ।

त्यही भएर उनीहरू मौका छापेर भारत भागेको एक स्थानीयले जानकारी गराए । उनीहरूलाई राखेको ठाउँमै अस्थायी प्रहरी चौकी किचनकवध पनि छ । तर पनि उनीहरू त्यहाँबाट भाग्न सफल भएको बताइएको छ ।
यता प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार भारतीय नागरिक भाग्नु भन्दा पनि उनीहरू पुनः काम गर्न गएको हुनसक्छ । करिब महिना दिन देखि क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरू काम गर्न जान पाए हुन्थ्यो भनिरहेको अवस्थामा उनीहरू त्यहाँबाट काममै फर्किएका हुन सक्ने बताउँदै एसपी कोइरालाले भने, ‘मेचीनगरको क्वारेन्टाइनमा पनि ५१ जना भारतीय नागरिक बसेका छन् । उनीहरूलाई पनि काँकडभिट्टा बन्दै गरेको मेची पुलको काममा पठाउने पहल भइरहेको छ ।’





