काठमाडौं । उदयपुरको भुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १२ जना मुस्लिम समुदायका व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मोरङका मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको छ ।
मुसलमान समुदायका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएपछि उनीहरुको सघन बसोबासको क्षेत्र, मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिए ।
‘जिल्लाका मुस्लिम समुदायको सघन बसोबास रहेको क्षेत्रको पहिचान गर्दै अनुगमनका लागि विभिन्न स्थानिय तहलाई भनिसकिएको छ,’ प्रजिअ भुजेलले भने, ‘स्थानीय तहका पदाधिकारीले मुस्लिम समुदायका अगुवाहरुसँग समन्वय गर्दै अनुगमन गर्नुहुनेछ त्यसका लागि प्रशासनले पनि सहजिकरण गर्दैछ ।’
मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेका छन् । यस्तै सीमावर्ती क्षेत्रबाट हुने लुकुछिपी प्रवेशलाई रोक्न चेकपोष्ट र सुरक्षाकर्मीसमेत बढाइएको उनले जानकारी दिए ।





