कैलाली । कोरोना भाइरसको संक्रमण रोकथाम र उपचार प्रभावकारी बनाउन ३३ जनाको चिकित्सक टोली काठमाडौंबाट धनगढी आएको छ ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको टोली सुदूर पश्चिम प्रदेश पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार चिकित्सकको टोली शुक्रबार धनगढी पुगेको हो ।
काठमाडौंबाट आएको टोलीलाई आवश्यकताको आधारमा विभिन्न जिल्ला खटाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले टोली पुगिसकेको र कोरोना सङ्क्रमण जोखिम बढिरहेको क्षेत्रमा उनीहरुलाई खटाउने तयारी भइरहेको बताए ।
अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङख्या पाँच पुगिसकेको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि टोली पठाएको हो ।