काठमाण्डौं । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यस्तै कतै कतै असिना पनि पर्न सक्नेछ ।
आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ । तर भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यसकै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो ।