चितवन । विश्वलाई नै चुनौती र आतंकित पारिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण थप भित्रीन नदिन नेपालले पनि सजगता अपनाइरहेको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कोरोना संक्रमणबाट बच्न भन्दै नेपाल सरकारले गएको चैत ११ गते बिहान ६ बजेबाट अत्यावश्यक अवस्था बाहेक सडकमा निस्किन निषेध गर्दै देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।
निर्णयानुसार राजपत्रमा उल्लेख भए अनुसार अत्यावश्यक क्षेत्र बाहेक सबै बन्द गर्न समेत सरकारले निर्देशन दिएको छ । सामान्यतया लकडाउनको अर्थ सबै नागरिक सुरक्षित रुपमा घरमै बस्ने हो । तर, चितवनको रत्ननगरमा भने सरकारको यस निर्णयलाई पूर्णरुपमा पालना गरिएको छैन ।
सडकमा मोटरसाईकल, जीप, कार, भ्यान, ट्रकहरु समेत सरकारको निर्णयलाई बेवास्ता गर्दै निर्वाध रूपमा गुडिरहेका छन् । आइतबार बिहानैदेखी अत्यावश्यक पसलहरु बाहेक अन्य व्यापार व्यवसायी पनि लुकिछिपी सञ्चालनमा आएका थिए भने यातायातका साधनहरु पनि निर्वाध रुपमा सञ्चालनमा आएका थिए ।
दुई सातासम्म लकडाउनमा पुर्णतः कडार्इ गरेको चितवन प्रहरी लकडाउनमा कडार्इ गर्न खुम्चिदै गएपछि अहिले लकडाउनको उल्लंघन गर्ने क्रम बढ्दो छ । दुई पांग्रे मोटरसाईकललाई केहि सोधपुछ गरे जस्तो गर्ने प्रहरीले निजी जीप कार, भ्यानहरु भने रोक्न सकेको छैनन् ।





