कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो


२९ चैत्र २०७६, शनिबार ०७:३८ मा प्रकाशित

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। यो सामग्री तयार पार्दासम्म संसारका १०२,७३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्‌। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानवीय हताहति हुने पक्कापक्की जस्तै छ।  अहिलेसम्म अमेरिकामा १७,९२७ जनाले ज्यान गुमाएका छन्‌। यो हताहति इटलीपछि अर्को देशमा भएको सबैभन्दा बढी हो। आजमात्रै अमेरिकामा १,२३६ जना संक्रमितको ज्यान गएको छ।

१०,८९६ जना संक्रमितहरू मृत्युसँग अन्तिम अवस्थामा जुधिरहेका छन्‌।  कोरोना संक्रमण अवस्थाबारे ताजा तथ्या‌ंक अद्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १६ लाख ५२ हजार ६४३ संक्रमित भेटिएका छन्‌। यी मध्ये तीन लाख ६९ हजार ९२७ जना उपचारपछि निको भएका छन्‌।

नेपालमा हालसम्म नौ जना संक्रमित भेटिएका छन्‌। तर दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ।अहिलेसम्म त्यहाँ २२९ जना संक्रमितको मृत्यु भएको छ। ७,३४७ संक्रमित पहिचान भएको छ।  कोरोना भाइरसको पहिलो मामिला गत ३१ डिसेम्बरमा चीनको उहान शहरमा भेटिएको थियो।

सुरूमा ठूलो मानवीय क्षति ब्यहोरेको चीनले अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ ठूलो उपलब्धि हासिल गरिरहेको जनाएको छ। त्यहाँ कोरोना संक्रमणका कारण अहिलेसम्म३,३३६ जनाले ज्यान गुमाएका छन्‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here