भाइरस रोकथामका लागि ९ निर्णय: झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी


२८ चैत्र २०७६, शुक्रबार १९:१६ मा प्रकाशित

झापा । देशका विभिन्न स्थानमा राहात वितरणमा एक रुपता नभएको र अनियमितता भएका समाचार बाहिरीन थालेसंगै झापामा राहत वितरणमा एकरुपता ल्याउन र लक्षित परिवारसम्म राहत पु¥याउनका लागि मापदण्ड बनाउने तयारी थालेको जिल्लास्तरीय ‘कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति’का संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताएका छन् ।

साथै बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम एवम् राहत वितरणका सम्बन्धमा विभिन्न नौ वटा निर्णय समेत गरेको छ । राहत वितरण र राहत सामग्रीमा एक रुपता ल्याउन प्रदेश सरकारसँग मापदण्ड निर्माणका लागि पहल गर्ने, झापामा विभिन्न जिल्लाका ३ सय ५० भन्दा बढी विद्यार्थी कोठा भाडामा बसेर अध्ययन गरिहेकाले उनीहरुलाई गृह जिल्लासम्म पु¥याउने व्यवस्था गर्ने, त्यस्तै राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थाहरुलाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने लगायतका निर्णय गरेको समितिले जनाएको छ ।

यस्तै बैठकले लक डाउनका बेला पनि भारतीय नागरिकको प्रवेश नरोकिएपछि स्थानीय प्रशासनले झापाको सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी बढाउने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लक डाउन गरेको बेला पनि भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि झापाका सीमावर्ती नाकामा थप जनशक्ति परिचालन गर्ने निर्णय गरिएको झापाका साहयक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

झापासँग सीमा जोडिएको भारतमा कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमित बढ्दै जांदा यस सीमा जिल्लामा सुरक्षा सर्तकता बढाइएको र स्थानीय नागरिकहरुको सहभागितामा नागरिक स्तरको समूह गठन गर्दै सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाको भनाई छ ।

भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो र मजबुत बनाइंदै लगेको प्रशासनले जनाएको छ ।

भारतसँग खुला सिमाना रहेको झापाको १ सय ४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । सुरक्षा स्थिती मजबुत बनाउंदै सीमा नाकामा उच्च सर्तकर्ता बढाइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here