विराटनगर । प्रदेश १ मा हालसम्म आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् ।
सोमबारसम्म डिस्चार्ज हुनेमध्ये ५ महिला र ६ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ ले जनाएको छ । मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । त्यस्तै सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ भने संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसियूमा राखेर उपचार गर्नु परेको छैन । सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना रहेका छन् ।
प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिर्पोट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पोट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।





