सामुदायीक विद्यालयका ५९ जना विद्यार्थीलाई ‘सहयात्रा ग्रुप’ ले दियो ट्रयाक


२८ पुष २०७६, सोमबार १९:३७ मा प्रकाशित

झापा । झापा र इलामका दुई सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई ‘सहयात्रा ग्रुप’ ले कपडा (ट्रयाक) वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमकोबिच ग्रुपले उक्त ट्रयाक उपलब्ध गराएको हो । ग्रुपले अर्जुनधारा नगरपालिका–२ स्थित नवज्योती प्राथमिक विद्यालयका ४५ जना र रोङ गाँउपालिका–२ स्थित अरुणोदय प्राथमिक विद्यालयका १४ जना गरी जम्मा ५९ जना विद्यार्थीलाई ट्रयाक वितरण गरिएको समूहका संयोजक तिलक योञ्जनले जानकारी दिए ।

समूहका संयोजक योञ्जनको अध्यक्षता र अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर सभा सदस्य राजेन्द्र वाग्ले, गाँउ सभा सदस्य शरन पाख्रीन तामाङ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडाका अध्यक्ष निर्वाण आचार्य, नवज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारराज दाहाल, पूर्व अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष घनश्याम ढुंगेललगायतले उक्त ट्रयाक विद्यार्थीहरुलाई वितरण गरेका थिए ।

ग्रुपले २०७६ सालमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलन भएको जम्मा रकम ३४ हजारमध्ये २४ हजार बराबरको ट्रयाक वितरण गरेको सहयात्री गजेन्द्र खनालले जानकारी दिए । बाँकी १० हजार नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरि कार्यक्रम सञ्चालन गर्ने सहयात्री खनालले बताए ।

सहयात्री एवम् गाँउ सभा सदस्य तामाङले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन सहयात्री खनालले गरेका थिए । ग्रुपको उक्त कार्यको प्रशंसासहित नवज्योती प्राविका प्रधानाध्यापक तिलचन खनाल र अरुणोदय प्राविका प्रधानाध्यापक गंगाप्रसाद धिमालले धन्यवाद ज्ञापन गरेका थिए । विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुको सहभागितामा सामाजिक कार्यमा सहकार्य गर्ने उद्धेश्यले झापा र इलामका युवाहरुले २०७५ सालबाट सो ग्रुप संचालनमा ल्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here