वर्तमान सरकार असफल भएको कांग्रेस महामन्त्री कोईरालाको आरोप


२८ पुष २०७६, सोमबार १८:५५ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका महामन्त्री डा. शशंक कोईरालाले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् ।

झापाको विर्तामोडमा आज नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोईरालाले मुलुकमा भ्रष्टचार, मुल्यवृद्धि, अनियमितता जस्ता कुरा बढेको भन्दै दुई तिहाईको सरकार असफल भएको आरोप लगाएका हुन् ।

सरकारले रेल, पानीजहाज जस्ता कुराको सपना मात्र बाँढेको तर विकासका कुनै पनि कुरामा फड्को मार्न नसकेको उनको भनाई थियो । कम्युनिष्ट सरकारले संविधानलाई समेत थिचोमिचो गरेको भन्दै उनले प्रेस जगतलाई स्वतन्त्र छोड्नु पर्नेमा जोड दिए ।

उनले सरकारले ल्याएको सूचना प्रविधि विधेयकले प्रेस जगतलाई कुण्ठित पार्ने काम भएको भन्दै यसको विरोध समेत गरे । महामन्त्री कोईरालाले पार्टी भित्रको तिक्तताका कारण कांग्रेस पछि परेको भन्दै सबै मिलेर एक ढिक्का हुन सके कसैले हराउन नसक्ने धारणा राखे ।

सभापति शेरबहादुर देउवासँग पार्टी तथा राष्ट्रको लागि कुनै सपना नभएको भन्दै उनले गुटको राजनीति त्याग्नु पर्नेमा जोड दिए । पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रीय सभाकी सचेतक सरिता प्रसाई, पूर्वमन्त्री दिपक गिरीलगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here