नोबेलले निःशुल्क अप्रेशन गर्दा फेरियो ५ बर्षे उमिसाको अनुहार


२७ पुष २०७६, आईतवार १८:५७ मा प्रकाशित

विराटनगर । जन्मजात निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ५ वर्षीया उमिसा चौधरीको दुबै आँखा छोपियो । उदयपुरको बेलका नगरपालिका–३ रातापानी घर भएका चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए ।

तर, त्यहाँ अप्रेशन हुँन नसक्ने भन्दै चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएपछि तत्काललाई उमिसाको उपचार यात्रामा पूर्णबिराम लाग्यो । आर्थिक रुपमा बिपन्न चौधरी परिवारले छोरीलाई घरमै लगेर राखे । समस्या भने दिन प्रतिदिन बढ्दै गयो । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुवै आँखा छोपिदा उनलाई हेर्नसमेत समस्या भईरहेको थियो । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले चौधरी परिवार चिन्तित थिए । तर, अहिले चौधरी परिवारको चिन्तालाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले खुशीमा बदलेको छ ।

नोबेलमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाईदा अहिले उमिसाको अनुहारको आकृति नै फेरिएको छ । चिन्ता र अन्यौलताकाबीच उनको निःशुल्क अप्रेशन भएपछि चौधरी परिवारमा खुशीयाली छाएको छ । ‘हामी अब के गर्ने भन्ने अन्यौलमा थियौ ।’ उमिसाका काका मनोज कुमारले भने ‘नोबेलले निःशुल्क उप्रेशन गरिदिँदा हामी धेरै खुशी छौ ।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सफल शल्यक्रिया गरेको हो । धेरै जटिल शल्यक्रिया समेत सफलतापूर्वक गरेर चर्चा कमाएका डा.काफ्ले नेतृत्वको टिमले शल्यक्रिया गरी उमिसाको निधारको डल्लो निकालेपछि अहिले उनी सामान्य अवस्थामा छिन् । अप्रेशन पश्चात अब पुनः डल्लो नपलाउँने डा.काफ्ले बताउँछन् । ‘यो जन्मजात समस्या हो । टाउकोको हड्डी भित्र रहनुपर्ने मस्तिस्क हड्डी भन्दा बाहिर निस्किदा यस्तो हुन्छ । यसलाई भित्री मस्तिस्कसँग छुट्याएर अप्रेशन गरिएको छ ।’ डा.काफ्लेले भने ।

नोबेलले उदयपुरको बेलका स्थित रामपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चौधरी परिवारले उमिसालाई ल्याएका थिए । शिविरमा जटिल शल्यक्रिया सम्भव नभएकाले अस्पताल ल्याएर उनको निःशुल्क शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताईन् ।

उनका अनुसार करिब दुई लाख मुल्य बराबरको शल्यक्रिया एवं उपचार सेवा निःशुल्क गरिएको छ । नोबेलमा यसअघि पनि हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here