पाल्पा । पछिल्लो समय नेपालमा पनि व्यवसायीक रुपमै बट्टाई पाल्न थालिएको छ । पाल्पाको रामपुरमा पछिल्लो समय कृषकहरु बट्टाई पालन तर्फ आकर्षित भएका छन् ।
छोटो समय, कम मेहेनत र थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भए पछि बट्टाईपालनमा किसानहरु आकर्षित भएका हुन् । केही समय होटल व्यवसाय गरेका रामपुर नगरपालिका वडा नं. ७ सिरपाताका आवास भट्टराई होटल व्यसाय छाडेर व्यसायीक रुपमै बट्टाई पालनमा लागेका छन् ।

आर आस्दा एग्रो फार्म मार्फत व्यवसायीक बट्टाई पालनमा लागेका भट्टराई मात्र नभई लामो समयको बैदेशिक रोजगारी पछि रामपुर ५ बेझाँडका पर्शुराम श्रेष्ठले पनि घरको कौशी मै केज निर्माण गरेर बट्टाई पाल्दै आएका छन् । बट्टाईको मासु र अण्डा सेवनले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका साथै तेज दिमाग, शारीरिक वृद्धि, छालाको सुरक्षा र सुत्केरीका लागि विशेष फाइदा पु¥याउछ । सुरुमा बजारिकरणमा केही समस्या भए पनि अहिले बट्टाईको मासु र अण्डाले स्वस्थ्यलाई दिने फाईदा सर्वसाधारणलाई थाहा भएसंगै माग पनि बढ्दै गएको छ ।
बट्टाई पालक भट्टराईले हाल ७ सय भन्दा बढी र श्रेष्ठले डेढ सय बट्टाई पालेका छन् । उनीहरुले मासुका लागि प्रतिगोटा २ सय देखि २ सय ५० सम्ममा होटलहरुमा बिक्री गर्दै आएका छन् भने अण्डा प्रति गोटा १० रुपैयाँका दरले विभन्न मासु तथा किराना पसल मार्फत बिक्री गर्दै आएका छन् । व्यवस्थित रुपमा पाल्न सके मासिक ५० हजार भन्दा बढी सहजै कमाई गर्न सकिने उनिहरु बताउँछन् ।





