धनुषा । अवैध खोला उत्खननको विरोध गर्ने युवकको धनुषामा टिपरले किचेर हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने रामजिवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतोको शुक्रबार विहानै औरही खोलामा टिपरले किचेर हत्या भएको हो ।
साथी रोशन यादवसँग मोर्निङवाक गएको बेला घर नजिकैको पूर्व पट्टीको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले उनको टाउको किचेर हत्या गरेको स्थानीय बताएका छन् । घटना भएको स्थान नजिकै मिथिला नगरपालिका ५ श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयहरुले टायरबालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कार्वाहीको माग गरिरहेका छन् ।
घटना लगतै प्रहरीले शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पतल जनकपुर पठाएको छ भने टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । घटना पश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् ।
गाउँलाई जोखिममा पार्ने गरी गाउको पूर्वपट्टीको औरही र पश्चिम पट्टीको बसही खोलामा भइरहेको अवैद्य उत्खननको दिलीपले गाउँलेसंगै विरोध गर्दै आएको स्थानीयको भनाई छ ।





