झापा । नेपाली कृषि जन्य बस्तु बङ्गलादेश निर्यात गर्न नसक्दा बङ्गलादेशसंगको व्यापार सन्तुलनमा नेपालले पाँच वर्षयता निरन्तर घाटा बेहोरी रहनु परेको छ ।
नेपाली कृषी उत्पादनलाई तेस्रो मुलुकमा पठाउन पर्याप्त पहल हुन नसक्दा व्यापार घाटा बेर्होनु परेको हो । नेपाल–बङ्लादेश ब्यापार समग्र २२ वषको अवस्था नाफादायी भए पनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारघाटा बढ्दो छ । यस अवधीमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ रुपैयाँ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ ।
विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो ।
आर्थीक वर्ष २०५४/५५ देखि २०७५/७६ सम्ममा नेपालले सो पारवहन मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८ सय ३७ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ । सोही अवधिमा बङ्गलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३ सय ६७ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको कार्यालयले जानकारी दिएको छ ।
आर्थीक वर्ष २०७५/७६ मा नेपालले दुई अर्ब ४१ करोड ३० लाख ३५ हजार ६ सय ८० को व्यापार घाटा व्यहोरेको छ । ब्यापार घाटा कम गर्न र बजार बिस्तारकालागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लागि परेको मन्त्रलालयको भनाई छ ।
केहि अघिका बर्षहरुमा नेपालबाट गहुं जाने गथ्र्यो तर पछिल्लो बर्ष यो नाका हुंदै बङ्गलादेश गहुं जान सकेको छैन । जसबाट पनि ब्यापारमा समस्या निम्तीएको हो । नेपालले आर्थीक वर्ष २०७५/७६ मा बङ्गलादेशतर्फ मुसुरो दाल, अम्लिसो कुचो, कत्था,प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायतका १७ प्रकारका मालसामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । निर्यात जन्य बस्तुमा सहुलियत प्रदान गर्न सके ब्यापार घाटा कम गर्न सकिने भन्सार कार्यालयको भनाई छ ।





