विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका सभापति भण्डारीको निधन


२३ पुष २०७६, बुधबार ११:१८ मा प्रकाशित

काठमाडौं । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष नीलप्रसाद भण्डारीको निधन भएको छ ।

सामुदायीक वनका अवधारणाकर्ता एवं सिन्धुपाल्चोकका पूर्वजिविस सभापति भण्डारीको बुधबार बिहान ४ः१५ बजे कोटेश्वरस्थित निवासमा निधन भएको हो । भण्डारी सुनकोशी गाउँपालिका ठोकर्पाका बासिन्दा हुन् । ८२ वर्षीय भण्डारी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । भण्डारीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘स्व. भण्डारी सिन्धुपाल्चोकका लोकप्रिय नेता, प्रखर राष्ट्रवादी र समग्रमा एक असल व्यक्ति हुनुहुन्थ्यो । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । शोकसन्तप्त परिवारमा हार्दिक समवेदना ।’

यस्तै, विश्व हिन्दु महासंघले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमार बुधबारका लागि काठमाडौंमा तय गरेको कार्यक्रम स्थगित गरेको छ । महास‌ंघकी महासचिव अस्मिता भण्डारीले सभापति भण्डारीको निधनका कारण बुधबार हुने कार्यक्रम स्थगित गरेको जानकारी दिइन् । २०२९ सालमा तत्कालीन ठोकर्पा गाउँपञ्चायतका प्रधानपञ्च रहँदा भण्डारीले सुरक्षाकर्मी र तारबारबिना नै जनस्तरबाटै वन जोगाउन सकिन्छ भन्ने अवधारणा अघि सारेका थिए ।

उनले सिन्धुपाल्चोकको दुई पटक जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनलाई सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो । मुलुकभर स्थापित सामुदायीक वनको सफल विकास भण्डारीकै अवधारणा अनुसार भएको हो । भण्डारीको दुई छोरा, तीन छोरी र श्रीमती छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here