झापा । संघीय सरकारले २० लाख पर्यटक भित्रियाउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष—२०२०’ अभियान घोषणा बुधवार नेपाल प्रवेशको पूर्वीद्वारबाट भएको छ ।
मेचीनगर नगरपालिका अन्तर्गतको मेचीनगर पर्यटन विकास समितिले आयोजना गरेको उद्घाटन समारोहमा राष्ट्रिय गीत बजे लगत्तै समितिका संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले कार्यक्रमको सभाध्यक्ष गदैं सहभागी सबैलाई स्वागत गरे । संघीय सांसद सुरेन्द्रकुमार कार्कीले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

नगर प्रमुख विमल आचार्यले ‘नेपाल भ्रमण वर्ष -२०२०’ लाई सफल बनाउन सबै नगरवासीमा आग्रह गदैं नेपालले भ्रमण वर्ष आयोजना गरिनुको उद्देश्यबारे प्रष्ट पारे । पूर्व निर्धारित कार्यक्रम अनुसार उद्घाटन समारोहमा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ५ जना पर्यटकलाई स्वागत तथा सम्मान गरियो ।
भारतीय नगरिक प्रियंका मल्लिक, पिंकी मजुम्दार, मामुनी मल्लिक, स्वेता खड्का गुलाव चन्द्र देलाई प्रमुख अतिथि संघीय सांसद कार्की, प्रदेशसभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनालीलगायतले रुद्राक्षको माला र नेपाली ढाकाको टोपी पहिर्याए । विदेशी पर्यटकहरुलाई मेचीपुलबाट नेवार समुदायको लाखे नाँच र अन्य बाजागाजासहित कार्यक्रम स्थलमा ल्याइएको थियो ।
नेपालले आफुहरुप्रति देखाएको स्वागत तथा सम्मानका लागि विदेशी पर्यटकले खुशीसहित आभार प्रकट गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि सांसद कार्कीले हरेक व्यक्तिले वार्षिक योजना बनाएर अघि बढ्नुपर्ने र भ्रमणलाई समेत प्राथमिकतामा राख्न जोड दिए । उनले हरेक नागरिक पर्यटकमैत्री बन्नुपर्ने बताउदैं आफ्नो व्यवहारले पर्यटक आफुप्रति आर्कषित हुने उनको भनाई थियो । उनले यातायात, ट्राभल होटललगायत अनय व्यवसायीहरुमा के गर्दा अधिक से अधिक पर्यटक नेपाल भित्रियाउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए ।

धार्मिक एवम् पर्यटकीय स्थलका संरचनाहरु पर्यटकमैत्री हुनुपर्नेमा जोड दिदैं स्थानीय सरकार त्यसतर्फ लाग्नुपर्ने बताए । प्रदेशसभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनालीलगायतले बोल्दैं आजबाट सरकारले अघि सारेको २० लाख पर्यटक भित्रियाउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष —२०२०’ अभियान श’शरु भएको र यसलाई सफल पार्न हरेक नागरिकको दायित्व भएको बताए ।
प्रमुख अतिथि तथा अतिथिलगायतको शुकामना मन्तव्य पश्चात विभिन्न समुदायको कला, संस्कृति र रीतिरिवाज झल्किने गरी सीमान्तकृत, लोपोन्मुख र आदिवासी जनजातिका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा नेवार समुदायको लाखे र टकटके, लिम्बु समुदायको च्याब्रुङ नाच सन्थाल समुदाय र मेचे समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।





