काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज, जनवरी १ तारिखदेखि शुरु हुँदैछ ।
काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ, प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ । भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने छन् ।





