झापा । झापाको बिर्तामोडमा रहेको कृषि थोकउपज बजारमा रहेको विषादी परीक्षण प्रयोगशालामा ढुसीनाशक (डिटिसि) तथा किटनाशक (पिवाई) समूहका विषादि परिक्षणगर्ने तयारी अघि बढाईएको छ ।
विषादी परीक्षण प्रयोगशालामा अहिले र्अग्यानोफोसपेट र कार्बोमेट २ समूहको मात्र विषादी परीक्षण गर्दै आएकोमा अब डिटिसि तथा पिवाई समूहका विषादीहरु समेत परीक्षण गर्ने तयारि सुरु गरिएको हो । काठमाडौको कालिमाटि थोक उपज बजारमा पनि डिटिसि तथा पिवाई समूहका विषादीहरु परीक्षण गर्ने तयारी गरिहेकाबेला झापाको यस कृषि बजारमा पनि विषादी परीक्षण मापन विधि थप गर्ने बालि संरक्षण केन्द्रीय कृषि प्रयोगशाला हरिवन काठमाडौंका वरिष्ट अधिकृत राजिव दास राजभण्डारीले बताए । उनले नेपालमा रहेका ७ वटा विषादी परीक्षण प्रयोगशालाहरुमा हाल र्अग्यानोफोसपेट र कार्बोमेट समूहको विषादीहरु मात्र परीक्षण भईरहेको जानकारी दिए ।
यहाँको विषादी परीक्षण प्रयोगशालालाई देशकै उत्कृष्ट बनाउने बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रवकुमार शिवाकोटीको भनाई छ । विषादी परीक्षण प्रयोगशाला जनताको हितमा भएकाले यसलाई संरक्षण गर्न नगरपालिका सधैं लागि पर्ने उनले बताए। विषादी परीक्षण प्रयोगशाला स्थापना भएपछि सर्वसाधारणले कम विषादी युक्त तरकारि खान पाएको भन्दै डिटिसि तथा पिवाई समूहका विषादिहरु परीक्षण थप गर्ने योजना बनाइएको उनले बताए ।
अहिले र्अग्यानोफोसपेट र कार्बोमेट मात्र विषादी परीक्षण गर्दै आएको यस विषादी केन्द्रमा ढुसीनाशक (डिटिसि) तथा किटनाशक (पिवाई) समूहका विषादी पनि परीक्षण शुरु भएपछि विषादी आयातमा समेत कमि आउन सक्ने विषादी परीक्षण प्रयोगशालाका प्रमुख सुरेशकुमार शाहले बताए । उनले विभिन्न ४ प्रकारका विषादी परीक्षण शुरु भएपछि कृषकहरु समेत सजग हुने बताए ।
डिटिसि तथा पिवाई परिक्षणको लागि जनशक्ति उत्पादन गर्ने उदेश्यले बिर्तामोड नगरपालिका र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को आयोजनामा गरिएको ३ दिने तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा विराटनगर र विर्तामोडमा रहेको विषादी परीक्षण केन्द्रका ८ जनाको सहभागिता रहेको थियो । तालिमलाई बालि संरक्षण केन्द्रीय कृषि प्रयोगशाला हरिवनका वरिष्ट अधिकृत राजिव दास राजभण्डारी लगायतले सहजिकरण गरेका थिए ।
नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)ले साना किसानहरुलाई कृषि उत्पादनकार्यका लागि विभिन्न पक्षहरुमा सहजीकरण गर्दै आएको छ । स्वीस सरकार विकास सहयोगले निर्दिष्ट गरेको १२ वर्षे दुरगामी लक्ष्य अनुरुप प्रत्येक चार वर्षमा एक चरण पुरा गरी जम्मा तिन चरणमा अपेक्षित प्रतिफल हासिल गर्ने अवधारण नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) ले राखेको छ । हाल कार्यक्रमको पहिलो चरण २०७२ सालको फागुन महिनादेखि कार्यन्वयनमा रहेको छ । यस कार्यक्रमले पहिलो चरणमा तिन मुख्य क्षेत्रहरु मकै, तरकारी र बाख्रा साथै बाली संरक्षण तथा बाली उत्पादनोपरान्त व्यवस्थापन उपक्षेत्रमा काम गर्दै आएको छ ।





