महिला एकल उपाधीका लागि प्रेरणा र सलोनी भिड्ने


१३ पुष २०७६, आईतवार १२:५६ मा प्रकाशित

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजना जारी १७ औँ ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा शनिबार भएको वुमन्स ओपनको सेमिफाइनल खेलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गरिन भने सलोनीले गङ्गा शर्मालाई ६–०, ६–२ ले पराजित गरिन । प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलमा डिफेण्डिङ च्याम्पियन कमल भण्डारी, छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाए । कमलले भीष्मजङ्ग गुरुङलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नवीन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गरे ।

त्यस्तै ४५ वर्षमाथिका एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गरे । सोही उमेर समूहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । प्रतियोगिताको ५५ वर्षमाथिको एकलमा कमल थापाले ध्रुव गुरुङलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले, मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदीप शाहले राजकुमार गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारे ।

३५ वर्षमाथिको डबल्स उपाधिका लागि कमल भण्डारी र राजु श्रेष्ठ (स्विड वे) को जोडीले सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोर्खा) सँग खेल्ने भएको छ । कमल जोडीले छेवाङ लामा र चिरायजङ्ग थापाको जोडीलाई तथा सिमान्त जोडीले शरण गुरुङ र राजन पौडेलको जोडीलाई पराजित गरेको हो । त्यसैगरी ४५ वर्षमाथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीसँग फाइनल खेल्नेछ । भट्टराई जोडीले दोर्जे लामा र अनु जोनको जोडीमाथि ५–२ र रिटायर्ड हर्टको नतिजा निकालेको हो भने राणा जोडीले वाकओभर पाएको थियो । प्रतियोगिताको ५५ वर्षमाथिको डबल्सतर्फ कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो ।

समीर शेरचन र अनिल तुलाचनको जोडीले प्रदीप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसँग उपाधिका लागि निश्चित गरेको छ । ६५ वर्षमाथिको एकलमा छेतन नर्केलले मेजर लक्ष्मीप्रसाद गुरुङलाई पराजित गरेको प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here