काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै न्यून बिन्दुमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरेको छ । तापक्रम घटेसँगै उपत्यकामा निकै चिसो बढेको छ । हिजो (बुधबार) बिहान काठमाडौंको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएका थियो । एक दिनकै अन्तरमा तापक्रम झण्डै २ डिग्रीले घटेको हो । देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ । जुम्लामा माइनस ६ दशमलव ४ डिग्री, डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।
चिसो बढेसँगै तराईका जिल्लाहरुमा शीतलहर छाएको छ । देशका प्रमुख उपत्यका तथा नदीकिनारहरु हुस्सु र कुहिरोमा ढाकिएका छन् । सरकारले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न नागरिकलाई आग्रह गरेको छ ।





