झापा । बुद्धशान्ति गाउँपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताका विभिन्न किसिमका गुनासा बाहिरीएका छन् ।
सार्वजनिक सुनवाईको पहिलो प्रश्नको रुपमा बुद्धशान्तिका समाजसेवी मनोरथ तिवारीले बुद्धशान्ति गाउँपालिकाको बजेट बनाउँदादेखि कार्यन्वयनमा आउँदा सम्म कति मिलेमहतो, कमिसन र भ्रष्टचार भएको छ भन्ने प्रश्नमा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईले आफूँ बुद्धशान्तिमा आएको ३ महिना मात्र भएको र यो ३ महिनाको अवधीमा त्यस्तो अनियमितता नभएको बारे जानकारी गराएका थिए ।
त्यस्तै तिवारीकै अर्को बुद्धशान्ति गाउँपालिका अबको ५ वर्षमा कस्तो हुन्छ र के कस्ता योजना बोकेर गाउँपालिका अगाडी बढेको छ भन्ने प्रश्नमा गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले पहिला आफूँ चुनावमा भोट माग्न जाँदा जनतालाई दिएको आश्वासन आफूँ लगायत सिंगो टिमले सफलतापूर्वक कार्यन्वयमा ल्याएको र शिक्षा, स्वास्थ्य तथा सडक मर्मतका विषयमा बुद्धशान्तिबासीहरुले चित्त बुझाउने गरिको प्रशंसनिय कार्य गरेको भनि उत्तर दिएका थिए ।
राम जानकी मन्दिर बुद्धशान्तिको सभाहलमा करिब ८ सय भन्दा बढी जनताहरुका माझ भएको सार्वजनिक सुनावाईमा बुद्धशान्तिका शिक्षा सेवी गणेश निरौलाले ध्वनी प्रदुषणका कारणले विद्यार्थीहरुमा अत्यन्तै धेरै असर परेको विषयमा गाउँपालिका प्रशासकिय अधिकृतले यस्ता विषयमा ध्यान दिएर तत्काल न्युनिकरण गर्ने आश्वासन दिएका थिए । त्यस्तै निरौलाकै अर्को प्रश्न बुद्धशान्तिबाट वैदेशिक रोजगारीमा कति जना युवायुवतीहरु गएका छन् उनीहरुको डाटा गाउँपालिका सँग छ कि छैन तथा ति युवाहरुलाई बुद्धशान्तिकै विकास विस्तार र प्रर्वद्धनमा लगाउने योजना गाउँपालिका सँग छ कि छैन भन्ने प्रश्नमा गाउँपालिकाका प्रशासकिय अधिकृत चापागाईले डाटा संकलन कार्य जारी रहेको भन्ने जानकारी गराउँदै अध्यक्ष भुजेलले बुद्धशान्तिका युवाहरुलाई यहाँनै रोजगारी दिन नेपाल अलैंची व्यवसायी महासंघसंगको समन्वयमा टिमाई शिवर क्याम्प छेउमा अलैंची भण्डारण कार्यका लागि अलैंचीको वेयर हाउस स्थापना गर्न लागिएको तथा त्यस वेयर हाउसमा अलैंची कटिङ, ग्रेडिङ तथा लेभलिङ कार्यमा करिब १००० जना कामदारले रोजगारी पाउने र यहाँका युवालाई यहीँ रोजगारी दिने तथा स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्न यस्ता विभिन्न योजना रहेको अध्यक्ष भुजेलले जानकारी दिएका थिए ।
त्यस्तै सार्वजनिक सुनुवाईमा बुधबारे गाविसका पूर्व अध्यक्ष खडानन्द वाग्लेले गाउँपालिकाले वढाएको करका विषयमा अर्को प्रश्न राखेका थिए । कर बढाइएको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चापागाईँले यो कर बुद्धशान्तिको विभिन्न विकास निमार्णका पूर्वाधारहरुमा खर्चिने भएकोले करको सीमा पहिलाको भन्दा केही हद सम्म बढेको स्वीकार्दै आवश्यक परे कार्यपालिका बैठकमा छलफल गरि कर घटाउने आश्वासन उनले दिएका थिए ।
त्यस्तै सुनुवाईमा उठेका अन्य विभिन्न प्रश्नहरु बुद्धशान्तिको सुकुम्वासी समस्या, कृषिका समस्या, फड्के किराका कारण धानवालीमा भएको समस्या, बुद्धशान्ति वडा नं. १ मा नदी दोहनको समस्या लगायतका विभिन्न समस्या तथा जिज्ञासाहरुलाई जनप्रतिनिधी तथा कर्मचारीले टिपोट गरेको तथा सुनुवाईमा उठेका समस्याहरुलाई तत्काल मध्यनजर गरि समाधानको बाटो खोज्ने प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताएका छन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित भएका बुधबारे गाउँ पंचायतका पूर्व प्रधानपंच दिननाथ ढकालले पत्रकारसँग कुरा गर्दै गाउँपालिकामा विगत लामो समय देखि सार्वजनिक सुनुवाई नभइरहेको अवस्थामा यो सुनुवाईले जनताको गुनासो सरोकार वाला समक्ष पुगेकोमा आफूँ खुशी रहेको बताउँदै पहिलेको बुधबारे भन्दा अहिलेको बुधबारे धेरै विकसित भइसकेको र आगामी दिनहरुमा पनि जनताको गुनासो सुन्दै उनीहरुको समस्यलाई समाधान गर्दै अघि बढ्न जनप्रतिनिधी तथा कर्मचारीलाई सल्लाह दिएका छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको अध्यक्षता, उपाध्यक्ष मिरा भुर्तेल तथा ७ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षाकर्मीहरुको उपस्थितीमा भएको सुनुवाई कार्यक्रम गाउँपालिकाका प्रशासन शाखाका मदन कँडेलले संचालन गरेका थिए ।





