काठमाडौं । आइतबारदेखि सुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि–ट्वान्टी क्रिकेटको दोस्रो दिनको खेलमा धनगढी ब्लुजले जित निकालेको छ ।
आफ्नो पहिलो खेल खेलेको धनगढीले सोमबार भएको खेलमा विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै रोमान्चक जित दर्ता गरेको हो । पोखरा रंगशालामा धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन मात्र बनायो । विराटनगरका लागि पहिलो ओभरको पहिलो बलमा मोहमद जाहिद आलम आउट भए । कमल सिंह ऐरीले क्याच आउट गराएका हुन् । विराटनगरका लागि ओपनरमा आएका दिलिप नाथ पनि बिनारन रन आउट भए ।
विराटनगरको तेस्रो विकेटको रूपमा सुनिल धमला १८ रन बनाएर आउट भए । उनलाई अमित खरेलले आउट गराएका थिए । विराटनगरको चौथो विकेटको रूपमा कप्तान प्रदीप सिंह ऐरी आउट भए । उनलाई सागर ढकालले क्याच आउट गराए । विराटनगरका लागि पाँचौ विकेटको रुपमा नोमन खान आउट भए । उनलाई सागर ढकालले १३ ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट गराए । विराटनगरका लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका राजु रिजाल २५ रनमा आउट भए । उनलाई अमित यादवले क्याच आउट गराएका हुन् । विराटनगरको लागि आठौं विकेटको रुपमा राजेस पुलामी मगर २ रन बनाएर आउट भए उनलाई धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए ।
टस हारेर ब्याटिङ गरेको धनगढीका लागि ओपनरमा आएका सन्दीप सुनार दोस्रो ओबरको तेस्रो बलमा ३ रन बनाएर आउट भए । किशोर महतको बलमा उनलाई जितेन्द्र मुखियाले क्याच आउट गरेका थिए । धनगढीका लागि ओपनरमा आएका रोर्डिगो थोमस १६ रन बनाएर आउट भए । उनलाई नोमन खानले आउट गराए । सातौं ओभरको पहिलो बलमा धनगढीको तेस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई साहव आलमले आउट गराएका हुन् । उनी गोल्डेन डक आउट भएका हुन् । श्रीमान्त विजयरत्न मेहेरा २५ रनमा आउट भए । उनलाई पुनित मेहेराले क्याच आउट गराए । धनगढीका लागि पाँचौँ विकेटको रुपमा सन्दीप जोरा ६ रन बनाएर आउट भए । उनलाई सोहब आलमले ११ ओभरको दोस्रो बलमा क्याच आउट गराएका थिए । सोहब आलमले ११ ओभरको चौथो बलमा अमित यादब ३ रनमा आउट भए । धनगढीका लागि सातौं विकेटको रुपमा मन्जीत श्रेष्ट १४ ओभरको तेस्रो बलमा आउट भए । उनलाई जहिद आलमले ११ रनमा बोल्ड आउट गराएका हुन् ।
सौरव खनाल १२ रन बनाएर आउट भए । उनलाई नोमन खानले आउट गराए । पुनित मेहेरा १५ रनमा आउट भए । आजको जितसँगै धनगढीले दुई अंक जोडेको छ । यस अघि प्रतियोगिताको पहिलो खेलमा जित निकालेको पोखरा पल्टनले पनि दुई अंक जोडिसकेको छ । प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा अहिले बुटवल बलास्टर काठमाडौं गोल्डेन भिड्दै छन् ।





