सृष्टी र प्रकृतिसँग जोडिएको किराँती पर्व साकेलाको महत्व


२९ मंसिर २०७६, आईतवार १२:५९ मा प्रकाशित

रविकिरण वान्तावा
झापा । यति बेला चिसो बढदैछ, यो मौसममा मानिसहरु सहित जीवजन्तु र चराचुरुङ्गीहरु न्यानो वतावरणको खोजिमा देखिन्छन् । मानिसहरु त आगो, हिटर तापेर वा न्यानो लुगा लगाएर अथवा तातो सुप तानेर जाडोलाई केहि कम गर्न कोसिस गरिरहेका हुन्छ भने चराचुरुङ्गी र जनावारहरु चिसोबाट बच्न लेक देखि बेसि तिर झर्ने गर्दछ ।

किसानहरुले भर्रखरै मात्र अन्नबाली काटेर भित्राएको हुनाले खेतमा छरिएका अन्नहरु किराफट्याङ्ग्राको आहाराको रुपमा प्रशस्त पाइने हुँदा चराचुरुङ्गी यो मौसममा बेसि झर्ने गरेको बुझिन्छ । प्रकृती पुजक किराँतीहरुले यी नै चरा वर्गमा पर्ने कराङ्खकुरङ्गको बसाइसराइलाई नै ऋतुसुचकको रुपमा लिएको पाइन्छ । किराँती संस्कृति परम्परामा दुई वटा मात्र ऋतु रहेको पाइन्छ उभौली र उधौली । जब चराचुरुङ्गीहरु गर्मि छल्न लेक वा हिमाली क्षेत्र तिर जान्छ त्यो समयलाई उभौली र चिसोबाट बच्न बेसि वा तराईतिर झर्न थाल्छ भने त्यस समयलाई उधौली भनिन्छ ।

यति बेला उधौली ऋतु – (मंसिर पूर्णिमा देखि) शुरु भैसकेको छ । किराँत राईहरु प्राकृती पुजक भएको हुनाले नयाँ ऋतुको आगमन सँगसँगै पाकेको अन्नबाली भित्राएको खुशियालीमा पितृ र प्रकृतिका देविदेवतालाई नयाँ बाली चढाउँदै पुजा गर्दछन् जसलाई हामी साकेला उधौली पर्व भन्दछौं ।

सह, अन्नपातका देवता अर्थात् प्राणी जगतका पालक कर्तालाई साकेला भन्ने गरिको तार्किक परिभाषा भए पनि राईहरुको समुदाय र भाषागत विविधताका कारण यसको उच्चारण र परिभाषा पौराणिक किंम्बदन्तीको आधारमा फरक फरक भेटिन्छ । विविध राईहरुको समुदायगत भाषामा साक्खेवा, साकेवा, सान्खेवा, साकेल, साखेल, भुमे, तोस आदि भनिए पनि यसको मूलमर्म र दर्शन एउटै हुने हुँदा नाममा एक रुपता ल्याउन किराँत राईहरुको साझा समाजिक संस्थाको अग्रसरतामा साकेला भन्न थालिएको हो ।

साकेला संस्कृति किराँत राईहरुको पहिचान हो । यो संस्कृति बिना किराँत राईहरुको परिकल्पना र पहिचान स्थापित गर्न सकिदैँन । साकेला उभौली र साकेला उधौलीको अवसरमा विधिपूर्वक कुलपितृको पुजा गरिसके पछि ढोल, झ्याम्टा र पुङ (अर्नाको सिङ) को संगितमय वातावरणमा साकेला सिलि नाच्दै घाम, पानी र जमिनको पुजा गर्दै देविदेवताको आराधना गरिन्छ । विभिन्न जीवजन्तु, चराचुरुङ्गी, शिकारी र कृषकहरुको अभिनय गर्दै नाच्ने शैली नै सिलिहो । अरु नृत्यको जस्तै सिलिनाचको पनि आफ्नै शैली हुन्छ ।

जीवजन्तुको क्रियाकलाप सहित बाघ गर्जेको अभिनय गरेर नाचेको सिलिलाई किवासिलि, अन्नको बिऊ छर्ने, बिऊ सार्ने देखि पाकेपछि बाली उठाउने सम्मको शिलशिलेबद्ध रुपको क्रियाकलापलाई चासुम सिलि, चराचुरुङ्गी सहित कुखुराको क्रियाकलाप र भाले बासेको अभिय गरेर नाचिएको सिलिलाई वापासिलि भनिन्छ । धनुकाँड भिडेर सिकार गर्न गएको सिकारी जस्तो अभिनय गरेर नाचिनेलाई आप्तारुङ् सिलि भनिन्छ । यस्ता सिलिनाँच किराँती राई समुदायमा दुइ सय भन्दा बढी प्रकारको भएपनि हाललोप हुँदै गइरहेको यसका जानकारहरु बताउँछन् ।

उधौली पर्व मंसिर पूर्णिमा देखि १५ दिन सम्म नै मनाइन्छ । यस पर्वलाई न्वागीपर्व पनि भनिन्छ । पाकेको नयाँ अन्नबाली सृष्टिकर्ता पारुहाङ्ग सुम्नि सहित पितृहरुलाई चढाउँदै भण्डारण गरेको अन्न मुसा र किराहरुले नखाओस भनि साकेला सिलिनाच्दै प्रकृति रवि भिन्न देविदेवताको आराधाना गरि बाली भित्राएको खुशियाली स्वरुप पितृ र माङ्ग सहित जल, जमिन, आकाश, बायु आदि प्रकृतिसँग आशिर्वाद माग्दै यो पर्व मनाइन्छ । यो मौसममा बोटबिरुवाको पातहरु झर्न थाल्ने, जाडो बढेसँगसँगै चराचरुङ्गी, लेकाली खोला नदीमा भएका माछाहरु चिसो छल्न बेसि तिर झर्न थाल्छन् ।

उभौली पर्व वैशाख पूर्णिमा देखि १५ दिन सम्म भूमिपूजा, आकाश, खोला नाला, हावा पानी, वनजंगलको विधिवत पूजा गरि प्रकृति र सृष्टि कर्तासँग सह मागी सुब्बे फाब्बे होस भनेर कामना गर्दै पुर्खाहरुसित आशीर्वाद माग्दै पितृ पूजा गर्ने अवसरको रुपमा मनाइन्छ । यो मौसममा बोटबिरुवामा नयाँ पलुवा लाग्ने, बालीनालीमा छरेको अन्नहरु टुसाउने गर्मी याम शुरु भएसँगै चराचुरुङ्गी उभो लेकतिर गर्मी छल्न बसाई सर्न थाल्छ । आफुले लगाएको अन्नबाली चराचरुङ्गी, किराफट्ङ्ग्राले नखाओस, बालीनाली सप्रियोस, खोलानाला, बाढी पहिरो र रोगव्यधी हैजाहरुबाट मानवजीवनका रक्षा गरुन भन्दै सृष्टि कर्ता पारुहाङ्ग सुम्निमा सहित विभिन्न देविदेवताको आराधाना गर्दै साकेलासिलि नाचिन्छ ।

किराँतीहरुको उभौली र उधौली पर्व पृथ्वीमा कृषियुग शुरु हुनुपूर्व जंगलीयुगमा धनुकाँडको आविष्कार गरि सिकार गर्न जान्ने भएदेखि नै प्रचलनमा आएको विश्वास गरिन्छ । त्यस आदिम समयको जंगली युगमा दुइचार जना सिकारी भेलाभई आफुले गरेको सिकारलाई रुखको फेदमा राखी सेउला हातमा लिई रुखको वरीपरि घुम्दै बनदेवताको प्रथना र आफुले गरेको सिकारको केहि भाग पितृलाई चढाउँदै खुशियाली मनाउथे भन्ने तथ्य किराँत राईहरुको साकेलासिलि र किराँतलिम्बुहरुको केलाङको गहिरो अध्यायनबाट बुझ्न सक्छौं । राईहरुको समुदाय, संस्कार र स्थान अनुसार पूजा सम्पन्न गर्न कुखुरा, जाड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, चिण्डो आदि सामाग्री प्रयोग गरि किराँती राई पूजारी बिजुवाले चुला पूजा गरि यी पर्वको आगमनलाई स्वगत गर्दछन् । त्यस पछि साकेला थानमा नौसिङ्गे भालेको बलिदिई पुजारी बिजुवाकोे आदेशबाट साकेला नाच शुरु गरिन्छ ।

साकेला सिलिलाई गति र शत्तिप्रदान गर्न ढोल, झ्याम्टा, पुङ बजाउने गरिन्छ । पहिलो दिन साकेला थानमा नाचिन्छ र त्यस पछि फरक फरक स्थानमा १५ दिनसम्म जातिय पहिरनमा सजिएर ढोलझ्याम्टा बजाउँदै हात र खुट्टाको चाल र हाउभाउको माध्यमबाट विभिन्न जीव, जनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, बालीपाके पछि काटेर उठाएको नक्कल गर्दै एक आपसमा गोलो घेरा लगाएर हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, डाला, सिम्कौली सेउली लिएर परम्परागत रुपमा सिलिनाच्ने गरिन्छ ।

यो पर्व नेपालमा रहेको किराँतीहरु बाहेक सिक्किम, आसाम, बर्मा, हङकङ, बेलायत, जापन, अमेरिका र कोरिया लगायत किराँत धर्मवलम्बीहरु वसोबास गरेको स्थानहरुमा पनि सिलीनाच्दै धुमधामका साथ मनाइने गरिन्छ ।

हिजो आजत साकेला सिलिनाच आधुनिक्ता सँगसँगै प्रत्येक गैर किराँती समुदायका युवायुवतीहरुमा पनि निक्कै लोकप्रिय नाच बन्दै गइरहेको विभिन्न ठाँउमा आयोजित उभौली वा उधौली कार्यक्रमहरुमा देख्न सक्छौं । अन्तमा सृष्टी र प्रकृतिसँग जोडिएको यो पर्व र साकेलासिलिको संरक्षणमा किराँती राई समुदाय मात्र नभइ राज्यको तर्फबाट पनि महत्वपूर्ण भूमिका हुनुपर्छ । लोपहुँदै गइरहेको सिलिहरुको खोजि, संरक्षण र पुस्ता हस्तान्तरणमा किराँती राई समुदायका अग्रजहरुको पनि ध्यान जान उति नै जरुरी देखिन्छ । आधुनिक जीवनशैलीसँगै आएको परिवर्तनमा किराँत राई सहित प्रत्येक नेपालीहरुलाई जोड्ने साकेलाको मौलिक भाकाहरुको स्वरुप परिवर्तन हुनसक्छ यसतर्फ पनि सचेत हुन जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here