बर्दिया । बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ ।
ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको हो ।
शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको थियो । दिउँसो सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ । सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेस फेला पारेको हो ।
शनिबार बिहान राजमार्गमा पर्ने भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । अगाडि प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेससहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।