काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली पुरुष क्रिकेट टिमले कांस्य पदक जितेको छ ।
माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्य पदक जितेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन बनाए । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।
जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको सुरुवात राम्रो थिएन । ५ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम जारी रह्यो । उसले ६० रन बनाउँदा चार विकेट गुमायो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ र आरिफ शेखले ३२ रन जोडे । यस्तै दीपेन्द्र ऐरीले दुई रन मात्रै बनाए । विनोद भण्डारी पनि १२ रनमा आउट भए ।
साग क्रिकेटमा नेपालले काश्य जितेको पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको थियो । तर श्रीलंका र बंगलादेशसँग पराजित भएपछि नेपालले काश्यका लागि खेलेको हो । महिला क्रिकेटमा पनि नेपालले काश्य पदक नै जितिसकेको छ । पुरुषतर्फको स्वर्ण पदकका लागि सोमबार श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।





