रेलको नक्सांकन गरी फर्कियो चिनियाँ टोली


१४ मंसिर २०७६, शनिबार १२:३९ मा प्रकाशित

काठमाडौं । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ।

मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो । चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मंसिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौं(पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए ।

उनले काठमाडौं(पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए । स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता थियो । त्यसैगरी, कुरिनटारबाट भरतपुर–भैरहवा हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि नयाँ ‘एलाइनमेन्ट’ प्रस्ताव गरिएको छ। ‘रेलमार्ग काठमाडौँबाट कुरिनटार भएर पोखरा जान्छ र कुरिनटारबाट लुम्बिनीका लागि छुटिन्छ,’ उनले भने ।

प्रस्तावित यो रेलमार्गको ‘डिजाइन स्पिड’ प्रतिघण्टा दुई सय किलोमिटर हुनेछ। प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको गति प्रतिघण्टा दुई सय किलोमिटर नै रहेको छ । काठमाडौँबाट पोखरासम्मको लम्बाइ १ सय ६४ किलोमिटर र कुरिनटारबाट लुम्बिनीसम्मको १ सय ५७ किलोमिटर रहेको सो अध्ययनले देखाएको छ । त्यसैगरी, काठमाडौँदेखि कुरिनटारसम्मको लम्बाइ एक सय किलोमिटर र कुरिनटारदेखि पोखरासम्मको लम्बाइ ९८ किलोमिटर रहने अध्ययनले देखाएको छ।

प्रवक्ता चित्रकारका अनुसार, स्थलगत अध्ययनको क्रममा काठमाडौँ–लुम्बिनी रेलमार्गको अन्तिम रेलवे स्टेसन लुम्बिनीको बुद्ध परिसरमा रहेको मायादेवी मन्दिर बाहिरको क्षेत्रलाई प्रस्तावित यस रेलमार्गको अन्तिम स्टेसन तय गरिएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा केरुङ–काठमाडौँलगायत नेपालमा निर्माण गरिने भनिएका रेलमार्गबारे छलफल गर्न अबको छ महिनाभित्र नेपाल र चीनको उच्च स्तरीय प्रतिनिधि मण्डलबीच २०२० को जुनमा चीनमा हुने प्रवक्ता चित्रकारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here