पाँचथरको तिन वटै निर्वाचन क्षेत्रमा अहिले सम्म २८.१२ प्रतिशत मत खस्यो


१४ मंसिर २०७६, शनिबार १२:१४ मा प्रकाशित

पाँचथर । उपनिर्वाचन भइरहेको पाँचथरको तिन वटै निर्वाचन क्षेत्रमा अहिले सम्म २८.१२ प्रतिशत मत खसेको छ ।

अहिले बिहान ११.४५ समय सम्ममा फिदिम नगरपालिका वडा नम्बर १ मा २५.०३ प्रतिशत, हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा २०.१९ प्रतिशत र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत झरेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले बताए । तिनै निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म ६ हजार ४ सय २६ जना मतदाताले मत लगाएका छन् । जसमध्ये ३ हजार २ सय २६ पुरुष र ३ हजार २ सय महिला रहेका छन् । तिनवटै क्षेत्रमा २२ हजार ८ सय ५३ मतदाता रहेका छन् ।

जिल्लामा १७ मतदान स्थल तोकिएको छ । पाँचथरमा मात्रै ३१ मतदान केन्द्र तोकिएको छ । जसमा १२ मतदान स्थललाई अति संवेदनशील, ३ वटालाई संवेदनशील, र २ वटालाई सामान्य भन्दै सुचिकृत गरिएको छ । जिल्लामा ९ दलका २१ उम्मेद्वारले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लामा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ ।

तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुने क्षेत्र मध्ये फिदिम १ मा ३ हजार ६ सय ७६ जना मतदाता छन् भने हिलिहाङ ७ मा २ हजार ६ सय मतदाता छन् । त्यस्तै फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सहितका दलहरु बिच प्रतिश्पर्धा हुँदैछ । तिनै निर्वाचन हुने क्षेत्रमा सत्तारुढ दल नेकपा र नेपाली काग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here