पोखरा । कास्कीको ११ वटै वडामा अहिले मतदान चलिरहेको छ । तर, यहाँको वडा नम्बर ३३ भरतपोखरीस्थित बरपाण्डेथुम मतदानस्थल निर्वाचन अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएपछि विवाद भएको छ ।
२ सय ४१ मत खसाल्ने बेलामा मतदाताले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो । केहीबेर मतदानसमेत रोकिएको थियो । अहिले मतदान स्थलमा रहेको राजनीतिक दलहरुले सर्वदलिय बैठक राखेर पुन मतदान सूचारू गरेका छन् । ‘सर्वदलीय बैठकले हस्ताक्षर नगरेको मतपत्र भेटियो भने सदर गर्ने सहमतिपछि मतदान सूचारू भयो,’ जिल्ला निर्वाचन कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दियो । मतपत्रमा हस्तार नगरेको पाएपछि केहीबेर नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका थिए ।
१५ प्रतिशत मत खस्यो
कास्कीमा ठाउँठाउँमा बम विस्फोटको घटना भएपनि अहिले मतदान शान्तिपूर्ण चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा विहान १० बजे सम्ममा १५ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उमेद्वारहरुले पनि आफ्नो मतदान केन्द्रमा पुगेर भोट हालेका छन् । नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीस्थित शान्ती उदय माविमा मतदान गरिन् ।
साझा पार्टीकी रजनी केसीले पोखरा ४ को नविन मावि मतदान केन्द्रबाट मतदान गरिन् । समाजवादी पार्टीका धर्मराज गुरुङले साँझ ४ बजे पछि मतदान गर्ने बताएका छन् । कास्की २ मा २१ ज्ना उमेद्वार चुनावी मैदानमा छन् । यीमध्ये १३ जनाले आफैँलाई भोट गर्न पाउँदैनन् । भोट गर्न नपाउनेमा कांग्रेसका उमेद्वार खेमराज पौडेल लगायतका छन् । भोट हाल्न नपाए पनि उनी बिहानदेखि नै मतदानस्थलमा मतदाता भेट्न ब्यस्त छन् । पोखरा २२ का पौडेलको ठेगाना कास्की २ मा पर्दैन । अन्य उमेद्वारहरु पनि मतदान केन्द्रमा मतदाता भेट्न व्यस्त छन् ।





