संखुवासभा । संखुवासभाको दुई स्थानीय तहमा भइरहेको उपनिर्वाचनका लागि शान्तिपूर्ण मतदान भइरहेको छ ।
दुई स्थानीय तहका १० वटै मतदान स्थलमा मतदान जारी छ । मकालु गाउँपालिकाको अध्यक्ष पद र खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दंगालले जानकारी दिए । खाँदबारी ३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङमा क र ख मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान सुरु भएको छ । उक्त मतदान केन्द्र क बाट जेष्ठ नागरिक ८३ वर्षीय जय बहादुर श्रेष्ठले मतदान गरे पछी मतदान सुरु भएको थियो ।
यस्तै मकालु गाउँपालिकाको ९ वटा मतदान स्थलका ११ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए । जिल्लाका १० वटै मतदान स्थलमा शान्तिपुर्ण ढंगले मतदान सुरु भएको प्रजिअ दुलालले बताए । उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटिएका छन् । संखुवासभामा १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा राखेको छ, भने एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य सूचीमा राखेको छ ।
उपनिर्वाचन हुने दुई वटै स्थानीय तहमा शान्ति सुरक्षा राम्रो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ दुलालले सम्पूर्ण मतदातालाई अनुरोध गरेका छन् । उपनिर्वाचनमा ३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । एक मतदान केन्द्रको भित्री पहिलो घेरामा १५ जना नेपाल प्रहरी, दोस्रो घेरामा १० जना सशस्त्र प्रहरी परिचालन भएका छन् । तेस्रो घेरामा नेपाली सेनाले गस्ती गर्ने प्रजिअ दुलालको भनाइ छ ।
उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय २२ मतदाता छन् । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपा सहित सात दलको उम्मेद्धवारी परेको छ, भने खाँदबारी–३ को वडा अध्यक्ष पदका लागि नेकपा र कांग्रेस दुई दलको मात्र उम्मेद्धवारी छ ।





