बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस र चालक रामेछापबाट पक्राउ


१० मंसिर २०७६, मंगलवार १३:४० मा प्रकाशित

काठमाडौं । बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो । दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ । तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन् ।

‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ ।’ प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए । चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो । गाडी काठमाडौं(रामेछाप रुटको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो । जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो ।

त्यसदिन सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो । तर, सिसिटिभी फुटेजमा सवारी पहिचान स्पष्ट नभएपछि प्रहरीले तत्काल पक्रन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here