प्रधानमन्त्री कम्तीमा तीन दिन आईसीयुमा


१० मंसिर २०७६, मंगलवार १४:०८ मा प्रकाशित

काठमाडौं । एपेन्डिसाइटिसको अप्रेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि प्रम ओलीलाई आईसीयुमा सारिएको हो ।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्‍न भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ । प्रमको एपेन्डिसाइटिसको अपरेसनमा संलग्न डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपण गरेको थियो ।

सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने जानकारी दिए । यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ । तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here