झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा दण्डहिनताको अवस्था डरलाग्दो रहेको बताएका छन् ।
‘विश्व अन्तराष्ट्रिय दण्डहिनता विरुद्ध दिवस’का अवसरमा आज पत्रकार महासंघ झापा शाखाले बिर्तामोडमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालमा हरेक वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना १ सयको हाराहारीमा हुने गरेको भन्दै उनले सरकारले यसलाई कडाईका साथ हेर्नु पर्ने बताए । अध्यक्ष आचार्यले पत्रकारहरुको हत्यारा तथा दोषिलाई जहाँ भएपनि कडा कार्वाही हुनु पर्ने बताए ।
महासंघको अभिलेखअनुसार नेपालमा २०५२ सालदेखि शुरु भएको सशस्त्र दन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ पत्रकार बेपत्ता अवस्थामा छन् । मारिएका ३७ जना पत्रकारमध्ये ५ पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, कोषाध्यक्ष राजेश मिश्र, प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुईटेल, कोषाध्यक्ष अम्बिका भण्डारी, पूर्व केन्द्रीय सदस्य गणेश पोख्रेल, झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई लगायतले बोलेका थिए ।





