खोलामा डुबेर र आफ्नै घाँटी काटेर झापामा दुई बालकसहित तीनको मृत्यु


८ मंसिर २०७६, आईतवार १२:३५ मा प्रकाशित

झापा । झापामा छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा डुबेर दुई बालक र आफ्नै घाँटी काटेर एक जनाको मृत्यु भएको हो ।

दमक नगरपालिका १ स्थित रतुवा खोलामा बनाउँदै गरेको नयाँ पुलको लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा दुई बालकको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । डुबेर मृत्यु हुनेमा दमक–१ बस्ने टेकबहादुर उपरकोटीको ९ वर्षीय छोरा आयुष र पाँचथर जिल्ला फाल्गुननन्द गाउँपालिका ५ घर भई हाल दमक–१ मा डेरा गरी बस्ने वीरबहादुर चेम्जोङको १२ वर्षीय छोरा भिसन रहेको छ । विद्यालय विदा भएकोले शनिबार दिउँसो दुवै बालक पौडी खेल्न गएका थिए ।

यता दमक नगरपालिका ६ बस्ने ४२ वर्षीय राजीव निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनको मृत्यु भएको छ । निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा गम्भीर घाइते भएका थिए । घाइते भएका निरौलालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाँटी काट्ने बारेमा केही नखुले पनि इलाका प्रहरी कार्यालय दमकले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here