टनकपुर बाँधबाट नेपाललाई पानी उपलब्ध गराउन भारत सहमत


८ मंसिर २०७६, आईतवार १२:१५ मा प्रकाशित

कञ्चनपुर । नेपाल–भारतबीच भएको महाकाली सन्धि अनुसार नेपाललाई पानी उपलब्ध गराउन भारत अग्रसर भएको छ ।

सम्झौताको २५ वर्षपछि टनकपुर बाँधदेखि नेपालको सिमानासम्म एक हजार २ सय मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन भारत अग्रसर भएको हो । सन्धिको धारा २ को उपधारा (२) अन्तर्गत नेपाललाई टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक र वर्षातमा एक हजार क्युसेक पानी उपलब्ध गराउनुपर्ने सम्झौता भएको थियो ।

तर, २५ वर्षसम्म आलटाल गर्दै आएको भारतले यसवर्ष भने मूल नहर निर्माणका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी भारतले नेसनल हाइड्रोपावर कर्पोरेसन लिमिटेडसँग ७५ करोडमा नहर निर्माणको ठेक्का सम्झौता गरी काम सुरु गरेको महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) कार्यालयका प्रमुख लोकबहादुर थापाले बताए ।

यता, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) कार्यालयले भने भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि बेदकोट नगरपालिका–७ मुसेपानीसम्म १५ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । कञ्चनपुर र कैलालीको ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएपनि पर्याप्त बजेट नहुँदा नहर निर्माणको कार्यले भने गति लिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here