बाँके । पाँचौँ धारा नेपालगन्ज म्याराथनको उपाधि पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक नवराज साउदले हात पारेका छन् उनले निर्धारित ४२।१९५ किलोमिटरको दूरी दुई घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गरी पाँचौँ संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन भएका हुन् । उनले मेडल, ट्रफी र ६५ हजार रुपैयाँ पनि हात पारेका छन् । आर्मीले यसअघि पहिलो र दोस्रो नेपालगन्ज म्याराथनमा पनि च्याम्पियन बनेको थियो ।
क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व जमाएका छन् । उसले शीर्ष ५ स्थान कब्जा गर्यो । दोस्रो स्थानमा आएका आर्मीका खगेन्द्र भाटले दुई घण्टा २५ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानका राजेन्द्र राउतले दुई घण्टा २९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरे । उनले २० हजार रुपैयाँले पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महतराले हासिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरे । महिला हाफ म्याराथनतर्फ आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले उपाधि हात पारिन् । उनले निर्धाति एक घण्टा ३० मिनेट २१ सेकेन्डमा दूरी पूरा गरी ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले एक घण्टा ३० मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वेरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आए ।
पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दूरी पूरा गरि १० हजार रुपैयाँ जितेको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले सात हजार तथा सन्तोषले पाँच हजार रुपैयाँ प्राप्त गरे । महिला पाँच किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै सात हजार तथा कल्पना थारुले तेस्रो हुँदै पाँच हजार प्राप्त गरेको ठकुरीले जानकारी दिए । पाँच किलोमिटर छात्रतर्फ केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रो भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, छात्रा ३ किलोमिटर दौडमा सीमा चौधरी प्रथम हुँदा पूर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भए । दुई किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिलचियर अन्तर्गत ट्राइसाइकल दौडमा यज्ञबहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए। किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भए ।

म्याराथनको उद्घाटन कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताए । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता जनाए । राखेप उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उप–महासचिव पिताम्बर तिम्सिनाले पनि म्याराथनले केन्द्र बाहिरको खेलकुदमा बेग्लै पहिचान बनाएको बताए।





